पुनर्निर्माण प्राधिकरणका सिइयो ज्ञवालीलाई कम्तिमा दुई दिन नहटाइने, दोस्रो स्पष्टिकरणको पत्र तयार

0

पुस २१, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय कार्यान्वन गर्न सरकारले थप २४ घण्टा पर्खने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले कानुनी अड्चन बारे महान्यायाधिवक्तासंग छलफल गरेर ज्ञवालीलाई हटाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले महान्याधिबक्ता रमणकुमार श्रेष्ठसंगको परामर्शपछि अर्को स्पष्टिकरण सोध्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियाले ज्ञवालीलाई पठाउन तयार पारिएको पत्रमा यसअघि पेश गरेको स्पष्टीकरण उचित आधार र तर्कसंगत नभएको उल्लेख भएको जानकारी दिनुभयो ।
‘प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत पदबाट किन नहटाउने हो ?’ त्यस सम्वन्धमा थप प्रष्ट गर्नु पर्ने आधार र कारण भए २४ घन्टाभित्र पेश गर्न ज्ञवालीलाई भनिएको छ ।
बिहिबार अबेर भएकाले शुक्रबार कार्यालय खुल्ने बित्तिकै ज्ञवालीलाई स्पष्टिकरणको पत्र थमाउने थपलियाले नेपाल एफएम अनलाइनलाई जानकारी दिनुभयो ।
पत्र बुझेको भोलिपल्ट शनिबार पर्ने भएकाले ज्ञवालीले आईतबार बिहान १० बजेसम्म अर्को स्पष्टिकरणको जवाफ बुझाउने सुबिधा पाउनु हुने छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई २०७२ पुस १० गते प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।

Share.

Leave A Reply